ठूलो परिमाणको लागूऔषधसहित शेरपुञ्जा पक्राउ

जिल्ला प्रहरी कार्यालय म्यादीको टोलीले ठूलो परिमाणको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले म्याग्दीको बेनी नगरपालिका–७ बाट दुई वटा बण्डलमा लागूऔषध क्रमशः डाईजेपाम–९९ एम्पुल, फेनारागन–९९ एम्पुल र नुर्फिन–९९ एम्पुल गरि जम्मा २९७ एम्पुल लागूऔषधसहित २१ वर्षीय साजन शेरपुञ्जालाई पक्राउ गरेको हो । म्याग्दी रघुगंगा गाउँपालिका–६ घर भई बेनी नगरपालिकामा डेरा गरी बस्दै आएका शेरपुञ्जाको कोठा खानतलासी गरी उक्त परिमाणको लागूऔषध बरामद गरेको हो ।
गोप्य सूचनाको आधारमा पुगेको प्रहरीको टोलीले मंगलबार शेरपुञ्जाको सुत्ने कोठाको खाटमुनि खैरो रङ्गको झोलामा पत्रिकालाई टेपले बेरेको अवस्थामा उक्ता लागूऔषध बरामद भएको हो ।
लागूऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३ (दण्ड सजाय) को दफा १४ (झ) बमोजिम पक्राउ परेका व्यक्तिलाई दुई बर्षदेखि १० बर्षसम्म कैद र एक लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने कानूनी व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकृत प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए ।