२०८२ अशोज १७, शुक्रबार
  • Aksharanka ८ मंसिर २०८०, शुक्रबार

पूजा खड्का

स्याङ्जा जिल्लाको उत्तर पूर्वमा पर्ने बिरुवा गाउँपालिका वडा नम्बर चार ओरष्टे मडकिनाको गुरुङ समुदायको माझमा रहेको गुफामा करिब २०० वर्ष पहिलेदेखि साधुसन्त परिवारको बसोबास हुँदै आएको थियो । यसै क्रममा सोही स्थानमा श्री नारायण पुरी हजुर र सोमबार पूरी हजुर को दुई छोरा पर्वत गिरी हजुर र मस्त गिरी हजुरको माझ एक्ली छोरीको रुपमा १९७७ पौस १५ गते औंसी तिथिको दिन तपस्वी श्री १००८ माता चम्पा गिरीको हजुरको जन्म भएको थियो।

उहाँ जन्मेको यो आश्रम श्री नारायणस्वर शिव मन्दिर गुफा नामले परिचित छ । तत्कालीन समयमा सात सय कोल्माको नामले परिचित यस आश्रमबाट स्थानीय जनमानसमा स्वास्थ्य शिक्षा शिल्पकला आयुर्वेद जस्ता मानव जीवनसँग सरोकारका आवश्यकीय सहयोग र सेवा प्रदान हुँदै आएको थियो।

यस आश्रमबाट शिक्षा लिएका व्यक्तिहरु पछि सामाजिक, राजनैतिक, प्रशासनिक, शैक्षिक क्षेत्रमा उल्लेखनीय भूमिका निभाएको पाइन्छ भने यसै ठाउँबाट मन्त्री बन्नुभएको स्वर्गीय खडक बहादुर गुरुङ लगायत कर्णेल जर्नेल जस्ता विविध पदमा पुग्न सफल भएको पाइन्छ।

तपस्वी माता चम्पा गिरी बाल्यकालमा घरधन्दा अन्तरगत बार वर्षको उमेरमा बाख्रा चराउन जादा पोखरीको पानीमा एउटा किरा लगातार घुमिरहेको देख्नुभएछ । यसले रातमा के गर्छ होला भनेर जिज्ञासा राखी रातमा टुकी बालेर हेर्न जाँदा रातमा पनि किरा घुमिरहेको देख्नुभएछ ।

किराको लगातार लगाव देखेर त्यसै किराको मिहिनेत र अथक प्रयासबाट प्रेरित भई जिन्दगी जिउन घुम्नुपर्ने रहेछ भन्ने विचार आएछ । ईश्वरमा मन लगाएर काम गरे केही गर्न सकिन्छ भन्ने मनमा एक किसिमको विचार राखेर घरबाट निस्की काहुले भन्ने ठाउँमा पुग्नुभएछ ।

त्यहा एक जना व्यक्तिले कता हिडेकी कान्छी भनेर सोध्दा तीर्थ जान्छु भनेर जबाफ दिएर गाईको दूध तताएको छु खाएर जाऊ भनेपछि गाईको दूध खाएर त्यहाबाट आफ्नो बाटो लागि तेर वर्षको उमेरमा सन्यास लिनुभयो । उहाको गुरु माता धीरज गिरी महाराज हुनुहुन्थ्यो।

यसैक्रममा चौध वर्षको उमेरमा उहाँ भारतको श्री पञ्चदशनाम जुना अखडामा एकजना कल्याण गिरीको स्वामित्वमा पुग्नुभयो । माता कल्याण गिरीको साथमा रहदा उहाले कत्ति पनि नपढेको भए पनि धेरै कुरा सिकेर माताको साथमा रहनुभयो । त्यही जुना अखडामा रहँदै गर्दा आज भन्दा सत्तरी वर्ष अघि आठ सय सन्यासीको नेतृत्व गरेर ठूलो भूमिका निभाउनु भयो ।

त्यहाँ रहदा तपस्वी माता पाकिस्तानको हिङ्गलाच तीर्थ, भारतको चार धाम, समग्रमा समस्था द्ववादश ज्योतिर्लिङ् लगायत पाँच पटक भारतको पैदल यात्रा गर्दै भारतको तिर्थातन गर्नुभयो। उत्तर प्रदेश बनारस, गुजरातको काफियाबाद देहरादून लगायत करिब असी वटा जुना अखाडा अन्तर्गत महिला सन्यास आश्रमको प्रमुख सञ्चालक नियुक्त हुनुभएको थियो।

१४ देखि २५ वर्षको उमेरमा जुना अखाडा रहँदै गर्दा उहाको तपस्या कठोर साधना नैतिक चारित्रिक व्रत र कठोर तप लाई देखेर जुना अखाडाले बाइस वर्षको उमेरमा श्री १००८ तपस्वी माता चम्पा गिरी नामले सम्मान गर्यो । उहाँ एक अक्षर पनि नपढेको भए पनि उहाँको त्याग तपस्या ले उहाको बैरबी विद्या खुलेको थियो । जसको कारण वेद वेदान्त पुराण इतिहास कर्मकाण्ड संस्कृति वैदिक वाङ्गमीको ज्ञाता हुनुहुन्थ्यो ।

यसै क्रममा उपाधि प्राप्त गरिसकेपछि बाइस वर्षको उमेरमा उहाँ मातृभूमि मडकिना गुफा मा केही गर्छु भनी आउनुभयो तर त्यहा स्थानीय नजर उहाँ प्रति राम्रो रहेन । उहाको प्रभावमा एकजना गुरुङको छोरी उहाँसँग जाने स्वेच्छा का कारण भारत जादा सँगै लगि हरिद्वारमा लगेर सन्यास लिई माता हरिद्वार गिरी बनाएर त्यही आश्रममा माता हरिद्वार रहनुभयो ।

तत्कालीन समयमा नेपालबाट भारत पुगेर यस्तो उपाधि प्राप्त गर्नु ठूलो कुरा हो जबकि महिलाहरु आफ्नो घरको दलान त्यागेर टाढा जान पनि डराउने र मन गरे पानी रोक तोक पारिवारिक दबाब रहने गर्दथ्यो भने भारत जस्तो देशमा पुगेर कल्याणकारी कार्य गरी भारतीयको मन जित्नु ठूलो कुरा थियो।

उहाँको त्याग कठोर तपस्या सिद्धि साधना तप व्रतको प्रभावबाट प्रभावित भइ भारतका वरिष्ठ सर्वसाधारण व्यक्तित्वहरू उहाँको चेलाचेली शुभचिन्तक थिए । २५ वर्ष भई सकेपछि उहाँ आफ्नो माता धीरज गिरी महाराजको वृद्ध अवस्था भएको ठानी माताको सेवा गर्ने उद्धेश्य सहित नेपाल आउनुभयो र माता धीरज गिरी रहेको आश्रम गुडी खोलामा उहाँको दर्शन गर्न आउनुभयो । यहां आएर गुरुको सेवा र बस्ने ठाउँको राम्रो व्यवस्थापन गरी रहनुभयो।

यहाँ आइसकेपछि देहरादूनको राजपरिवारले उहाँको त्याग तपस्याबाट प्रभावित भई त्यहाँ बोलाएर ठूलो आश्रम बनाएर गुरु बनाएर ठूलो सम्पत्ति माता चम्पा गिरीलाई सुम्पे। तपस्वी माता छ वर्ष बसेर सन्यास आश्रमको सञ्चालन गर्नुभयो र एक चेली रमण गिरीलाई नियुक्त गरी पुनः गुडी खोला आश्रममा आउनुभयो ।

३०/३१वर्षको उमेरमा आफ्नो गुरुको सेवा गर्ने र अव भारत नजाने अठोट गरी गुडी खोला फर्केर खरको छानाको सानो छाप्रोको राम्रो व्यवस्थापन गरी मर्मत संहार गरी गुरु माताको स्याहार सुसार गर्दै एकजना सन्यासी गुरुको सेवाको लागि राखेर नेपालका पश्चिमी देखि पूर्व हिमाल देखि तराई सम्मका एतिहासिक धार्मिक पुरातात्विक तीर्थस्थल मठ मन्दिर को भ्रमण गर्दै मानसरोवर जस्तो विकट तीर्थस्थल को तीन पटक भ्रमण गर्नुभयो भने गुरु बसेको ठाउँमा आश्रम बनाउने उद्धेश्यले एउटा शिवालय बनाउनु भयो। जसको आज धनेश्वर महादेव नामले प्रसिद्ध छ भने अर्को राधाकृष्ण मन्दिर निर्माण गर्नुभयो।

यो मन्दिर निर्माण गर्ने क्रममा सिद्धार्थ राजमार्ग बनिनसकेको हुँदा मन्दिर निर्माण सामाग्री बुटवलबाट पिठिउमा बोकाएर ल्याउनुपरेको थियो। उहाको कठोर मिहिनेत त्याग तपस्या र लगावको कारण पुतलीबजार वडा नम्बर ४ अन्तरगत गुडि खोला मा श्री १००८ तपस्वी चम्पा गिरी आश्रमको स्थापना भयो। यहां रहदा पोखरेल परिवारकी एकजना चेली माता चम्पा गिरीको शरणमा आएर सन्यास लिई माता गङ्गा गिरी नामले प्रख्यात हुनुभयो।

तपस्वी माता यहां आए पछि पनि आरुखर्क राजपरिवार मधु महारानी, मुखीया धनमहारानी,गरहौंकोटे राज परिवार, पूर्व प्रधानायायाधीश रामप्रसाद श्रेष्ठ, ए आई जी सुरेन्द्र बहादुर शाह, विद्वान पण्डित, बुद्धिजीवी, सर्वसाधारण लगायत धेरैजसो चेला चेली र शुभचिन्तक थिए।

यस्तै शुभचिन्तकको रुपमा सत्र वर्षको उमेरमा घरबाट भागेर बनारस पुग्नुभयो । त्यहाँ अध्यन गरी बम्बईको गडेश्वर अन्तराष्ट्रिय वेद मिशनमा तीन वर्ष बसी माउन्ट टापु संस्थामा केही समय रहनुभयो । १९९५मा गुजरातको अहमदाबाद र पछि वृन्दावनको आश्रममा प्रशासकीय रुपमा सेवा गर्नुभयो । जुन आश्रममा पुग्दा पनि तपस्वी माता चम्पा गिरीको चर्चा परिचर्चा सुनी श्रद्धाले उहाँको नाम पुकार्दा को रहेछ भनेर दर्शन गर्ने जिज्ञासा जागी २०५८ साल चैत्र महिनामा कैलाशानन्द महात्माको साथमा स्वामी गोकुलानन्द तपस्वी माता बसेको आश्रममा आउनुभयो ।

उहाँको दर्शन पछि उहाँको नम्र बोली, वचन, व्यवहार, त्याग तपस्या, सिद्धि, ब्रत, तपबाट प्रभावित भएर तपस्वी माताले पनि उहाँलाई धर्म पुत्रको रुपमा स्वीकार गर्नुभयो । उहाँ पनि साथमा रहेर तपस्वी माताको सेवामा जुट्नुभयो । यसपछि सरकारी पहलकदमीको साथमा योजना पारेर आश्रम लगायत धेरै क्षेत्रमा सहयोग पुर्याउनु भयो ।

तपस्वी मातालाई देखेपछि सबैजना उहाको अघि अघि नम्र रहन्थे । उहाको केटाकेटीको जस्तो स्वभाव थियो । उहाँ सालिन व्यक्तित्व, नम्र हुनुहुन्थ्यो । उहाँको बोली वचनमा मधुरता रहेको कारण उहाँमा एक चुम्बकीय शक्ति नै थियो भनेर स्वामी गोकुलानन्दले बताउनुहुन्छ ।

उहाँको हात निर्धनको धनको लागि, घर नहुनेको लागि घर प्राप्तिको लागि, निसन्तानलाई सन्तान प्राप्तिको लागि र समस्या समाधानको लागि, आशीर्वादको लागि लाभदायक थियो । उहाँ आयुर्वेदिक जडीबूटी मिलाएर औषधि बनाउने विषयमा निपुण हुनुहुन्थ्यो । उहाँ सकारात्मक कार्यमा प्रोत्साहन र प्रेरणा दिने कार्यमा अग्रसर रहनुभयो।

यस आश्रममा रहदा स्वामी गोकुलानन्द सहित गीता र राममाया दुई चेली उहाको सेवामा हुनुहुन्थ्यो । उहाँ अदम्य साहस हिम्मत क्षमता त्याग तपस्या तप व्रत सिद्धि की धनी रहेकाले उहाँलाई खाना, बस्न, हिँड्न, तीर्थस्थल घुमफिर गर्न कुनै समस्या रहेन ।

प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्कने क्रममा तपस्वी मातालाई काफल खान मन लागेछ । काफल टिप्न नसकेर स्वर्गद्वारीलाई सम्झदा स्वर्गद्वारीको प्रभावबाट काफलको हाङ्गा भाचिएर टिपी केही स्वर्गद्वारीलाई चढाएर केही आफूले खाइ रहर मेटाइएको कुरा पनि उहाले आफ्नो धर्मपुत्रलाई सुनाउनुभएको थियो ।

समयको निरन्तरता सँगै एकदिन तपस्वी माता बिरामी हुनुभयो । उपचारको लागि पोखरा फेवासिटी अस्पताल लगेपछि केही दिन त्यहा राख्नुपर्ने भयो । उपचारको क्रममा उहाँ २०७०चैत्र २६ गते ९३ वर्षको उमेरमा रामनवमी को दिन बिहान चार बजे धर्म पुत्र स्वामी गोकुलानन्दको काखमा ब्रह्मलिन हुनुभयो ।

त्यसपछि ‘गार्ड अफ अनर’ बाट स्याङ्जा घुमाएर राधाकृष्ण मन्दिरमा समाधि गरिएको थियो । ब्रह्मलिन भएको सोह्रौँ दिनमा षोडशी भण्डारमा करिब तीन सयको संख्यामा साधु बोलाएर उहाको सम्मानमा भोज भण्डार गरिएको कुरा धर्मपुत्र स्वामी गोकुलानन्दले बताउनुहुन्छ ।

एक सामान्य परिवारमा महिलाको रुपमा जन्मेर उहाँले जुन किसिमको व्यक्तित्व निर्माण गर्नुभयो र व्यक्तित्व निर्माणको लागि जुन अथक प्रयास त्याग तपस्या सिद्धि तप व्रत तीर्थाटन लगाव गर्नुभयो, यस्तो किसिमको अदम्य साहस, क्षमता, सिद्धी, अबको धेरै समयसम्म सायद नेपाली समाजमा दुर्लभ नहोला भन्न सकिन्न । उहाको अदम्य साहस को कदर गर्नै पर्छ र उहाको संघर्ष पछिको सफलता मातृभूमि मडकिनाको लागि मात्र नभएर नेपाल र नेपालीको लागि गर्वको विषय रहेको छ।

आफैले स्थापना गरेको श्री १००८ तपस्वी माता चम्पा गिरी आश्रममा आफ्नो बाकी समय बिताएर ब्रह्मलिन हुनुभएको तपस्वी माताको पवित्र समाधि समेत रहेको सो स्थान यस क्षेत्र कै आध्यात्मिक तीर्थस्थल को रुपमा परिचित छ ।

उहाको जन्मभूमिमा भने आमा समुह र युवा क्लबको सहयोग र आश्रममा सेवा पुर्याउदै आउनुभएको कृष्ण गिरी र उहाको भाइ राम गिरीको सहयोग मा कार्यक्रम तथा पूजा पाठ भएता पनि एतिहासिक एबम् पुरातात्विक महत्व बोकेको श्री नारायणस्वर शिव मन्दिर तथा आश्रम प्रचार प्रसारमा ओझेलमा परेको हुँदा यसको प्रचार आवश्यक र बहु उद्देश्यीय संरचना निर्माण एबम् विकास गर्नुपर्ने आवश्यकता रहेको छ ।

यस पवित्र तपोभूमि एबं आश्रमको संरक्षण गरेमा समाजमा तपस्वी माताको जीवनी पढेर नया पुस्तालाई केही गर्नुपर्छ र केही प्राप्तिको लागि मार्गदर्शन रहनेछ, प्रेरणा जागृत हुनेछ, सचेतना सद्बुद्धिको विकास हुनेछ । यसको साथमा यो धार्मिक पर्यटनको लागि उदाहरणीय भूमि बन्न सक्ने बलियो सम्भावना समेत रहेको छ ।

Published Date : ८ मंसिर २०८०, शुक्रबार

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

कच्चा तेलको मुल्य पाँच महिना एताकै न्युन विन्दुमा
फेदिखोलामा अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी
भीरकोट नगरपालिका प्रमुखमा काँग्रेसका कर्मचार्य विजयी
गल्याङ नगरपालिका प्रमुखमा काँग्रेसका भट्टराई विजयी
हरिनास ५ मा काँग्रेसका निर्मल लम्सालको प्यानल विजयी
स्याङ्जामा भेटिएको शंकास्पद वस्तुभित्र ढुङ्गा भेटियो
स्याङजा काँग्रेसको सभापतिमा राजु थापा निर्वाचित
स्याङ्जा काँग्रेस जिल्ला सभापतिमा राजु थापाको बलियो दाबेदारी
नेविसंघ स्याङ्जा द्धारा अक्षयकोष स्थापना
देशभर बाढीपहिरोमा परी १११ को मृत्यु, ३३ जना अझै बेपत्ता
नेबिसंघ फेदिखोलाद्वारा देउसी भैलोबाट उठाएको रकम दृष्टिविहीन विद्यार्थीलाई हस्तान्तरण
स्याङ्जाको पुतलीबजारमा आँधीखोला महोत्सव सुरू
स्याङ्जाका सांसद राजु थापाले सुरू गरे स्थानीय जनतासँग संवाद कार्यक्रम
स्याङ्जा काङग्रेसले गर्‍यो पत्रकार र मिडियालाई सम्मान
पुतलीबजार नगरपालिकाद्वारा शिक्षक बक्तृत्वकला प्रतियोगिता सम्पन्न।
भीरकोट ३ मा सडक ट्रयाक उद्घाटन, भलिबलमा राङखोला प्रथम